निर्दलीय उम्मेदवारलाई हेरौँ यसपटक” !!
“अरू दललाई हेर्यौँ पटक पटक
निर्दलीय उम्मेदवारलाई हेरौँ यसपटक” !!
आदरणीय आमा बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू,
नेपालको मुक्ति र परिवर्तनका लागि भएका प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक, मधेस, थरुहट, जेन्जी Gen-Z आन्दोलनमा आफ्नो अमूल्य प्राणको आहुति दिई देशलाई आजको अवस्थासम्म पुर्याउनु हुने सम्पूर्ण महान्, आदरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, यस्ता वीर, होनहार छोराछोरी जन्माएर राष्ट्रलाई सुम्पनु हुने आदरणीय शहीद परिवारआमा बुबाप्रति हार्दिक समवेदना प्रकट गर्दछु। विभिन्न आन्दोलनका क्रममा घाइते भई अङ्गभङ्ग हुनु भएका सम्पूर्ण साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
आदरणीय जनसमुदाय,
देश यतिखेर प्रतिनिधि सभाको चुनावमा होमिएको छ। यो चुनाव कुनै पाँच-पाँच वर्षमा हुने नियमित आवधिक चुनावचाहि होइन। यो त पुराना दलहरूको काम गर्ने कार्यशैली प्रतिको, देशमा भएको चरम भ्रष्टाचार, बेथिति र बेरोजगारी आधी भएको कारण जेन्जी आन्दोलनमा अघि बढ्यो । उक्त आन्दोलनले दुई दिनमै फिल्मी स्टायलबाट देश र दुनियाँलाई हल्लायो भने पुराना दल र शासकहरूको भागा-भाग भयो। उक्त आन्दोलनलाई दबाउन केपी ओलीको कथित गठबन्धन सरकारले बर्बर दमन गरी कयौं जेन्जीले बलिदान दिनु पर्यो। जेन्जीका एजेन्डा केवल सुशासन, भ्रष्टाचारको अन्त्य, देशमै रोजगार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध अन्त्यका लागि मात्र थियो, पछि आन्दोलनमा देशी विदेशी तत्वहरूको घुसपैठले, देशका प्रशासनिक भवनहरू, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबै खरानी भय र देश नेतृत्व विहिन अवस्थामा आइपुग्यो। देशमा भएको संबिधान कोमामा राखेको बिरामी जस्तै आजपनि छ। हाम्रो देश रहने वा नरहने भन्ने गम्भिर मोडमा आइपुगेको छ। यो चुनौतीको सामना गर्न पुराना पुरातनवादी सोच भएका नेता पार्टीका झोलेहरूले र अहिलेका नयाँ खरानी धसेका जो अराजकतावादी दलाल जोगीहरूले पनि सामना गर्न सक्दैनन्। यसको समाधान केवल तपाई हामी, स्वाभिमानी, राष्ट्रवादी देशभक्त नेपालीले मात्र गर्न सक्छौ। आउनुहोस् यस संकटपूर्ण घडीमा देशलाई जोगाऔं, अहिलेको युग सुहाउँदो व्यक्ति रोजौँ, हाम्रो मान्छे होइन राम्रो मान्छे रोजौँ, पुराना दलले त देशलाई पछाडि धकेले भने जनतालाई अन्धकार तिर लग्दैछन् भने नयाँ भन्ने पार्टीहरूले झन अराजकता तिर देशलाई लर्ग्दै विदेशी दलाल को पहिला बन्ने भन्ने होडवाजी चलाई रहेका छन्। यहि सन्दर्भमा हाम्रो देशमा चुनाव हुँदैछ। यो चुनावमा हामीले जनता प्रति इमान्दार, देशभक्त, कर्मठ, विकासवादी, नयाँ जोश र जागर भएको व्यक्तिलाई चुन्न जरुरी छ। जनता इतिहासका निर्माता हुन र न्यायधिश हुन। जनताले फैसला गर्ने सुवर्ण अवसर चुनाव मार्फत प्राप्त गरेका छन्। यो अवसरलाई भरपुर सदुपयोग गरी आउने फाल्गुन २१ गते मलाई अनार चिन्हमा छाप लगाई एक पटक यस क्षेत्रको आमूल परिवर्तन गर्ने अवसर प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा राखेको छु। चुनावको बेला खोक्रो भाषण र झुट्टा आश्वासन दिई जनतालाई ठग्ने र ठूला-ठूला भ्रष्टाचार गर्ने र आफ्नै भाई भतिजा बाहेक जनताका समस्या नबुझ्ने उम्मेदवारलाई हामीले भोट दिनु हुन्न। यीनिहरूले हाम्रो समस्या कहिलेपनि बुझ्न सकेका छैनन् यहाँको विकासको अवस्था र समस्याहरू हिजो जस्ता थिए आज पनि त्यस्तै ज्यूँका त्यूँ छन्। तपाईहरूको यहि दुःख पिडा देखेर यहि माटोको माया र जिम्मेवारी बोध गरी म राजेन्द्र बहादुर शाही पार्टी भन्दा माथि उठेर चुनाव चिन्ह अनार ल्याएर निर्दलिय उम्मेदवार भई यहाँहरूको आशा, भरोसा र विश्वासले अघि बढेको छु। मलाई विश्वास छ यहाँहरूको अमुल्य मतदानले मलाई अत्यधिक बहुमतले विजय गराउनु हुनेछ, यही आशा र भरोसाका साथ जितेपछि यसलाई दृढरूपमा लागू गर्ने प्रतिबद्धतासहित मेरो घोषणा-पत्र यहाँहरूको बीचमा पेश गर्ने अनुमति चाहन्छु।
१. शिक्षा (आधुनिक र प्राविधिक) | Education (Modern & Technical)
- प्रविधिमैत्री शिक्षण पद्धति (Digital-Friendly Education System): प्रत्येक सामुदायिक विद्यालयमा ‘डिजिटल ल्याब’ (Digital Lab) र उच्च गतिको इन्टरनेट पुर्याई प्रविधिमैत्री शिक्षण पद्धति लागू गरिनेछ।
- प्राविधिक शिक्षालय र अवसर (Technical Institutes & Opportunities): यस क्षेत्रमा कृषि र इन्जिनियरिङका प्राविधिक शिक्षालय स्थापना गरी युवाहरूका लागि “पढ्दै-कमाउँदै” (Earn While You Learn) कार्यक्रम मार्फत आयआर्जनको अवसर सिर्जना गरिनेछ।
- राजनीतिमुक्त विद्यालय (Politics-Free Educational Institutions): विद्यालय क्षेत्रमा भइरहेको अनावश्यक राजनीतिकरणको अन्त्य गरी पूर्ण रूपमा शैक्षिक वातावरण सुनिश्चित गरिनेछ।
- इनोभेसन सेन्टर र सृजनशीलता (Innovation Center & Creativity): टीकापुरमा ‘इनोभेसन सेन्टर’ स्थापना गरिनेछ। जहाँ विद्यार्थीहरूलाई पारिश्रमिकसहित अध्ययन र अनुसन्धान गर्ने सुविधा प्रदान गर्दै उनीहरूको ज्ञान र सृजनशीलतालाई प्रवर्द्धन गरिनेछ।
२. स्वास्थ्य (सुलभ र विशेषज्ञ सेवा) | Healthcare (Accessible & Specialized Services)
- टीकापुर अस्पतालको स्तरोन्नति (Upgrading Tikapur Hospital): टीकापुर अस्पताललाई विशिष्टीकृत सेवा (Specialized Services) सहितको शिक्षण अस्पतालका रूपमा विकास गरिनेछ। यसले गर्दा मुटु, मृगौला र प्रसूति जस्ता जटिल उपचारका लागि नेपालगन्ज वा भारत जानुपर्ने बाध्यताको अन्त्य हुनेछ।
- नि:शुल्क स्वास्थ्य बीमा र एम्बुलेन्स (Free Health Insurance & Ambulance): गरिब, विपन्न र असहाय वर्गका लागि पूर्ण रूपमा नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ। साथै, आकस्मिक एम्बुलेन्स सेवा सबै वडामा २४सै घण्टा उपलब्ध हुने सुनिश्चित गरिनेछ।
३. खानेपानी (स्वच्छ र सुरक्षित) | Drinking Water (Clean & Safe)
- ‘एक घर, एक धारा’ अभियान (‘One House, One Tap’ Campaign): ग्रामीण र सहरी क्षेत्रका प्रत्येक घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न “एक घर, एक धारा” अभियानलाई तीव्रताका साथ लागू गरिनेछ।
- पूर्वाधार विस्तार (Infrastructure Expansion): आकाशे ट्याङ्कीहरूको निर्माण र पाइपलाइन विस्तार गरी सबै गाउँ-बस्तीमा पर्याप्त र सुरक्षित पानीको आपूर्ति सुनिश्चित गरिनेछ।
- आर्सनिक र आइरन मुक्त पानी (Arsenic & Iron-Free Water): तराई क्षेत्रमा खानेपानीको मुख्य समस्याका रूपमा रहेको आर्सनिक (Arsenic) र आइरन (Iron) को मात्रा कम गर्न अत्याधुनिक ‘फिल्ट्रेसन प्लान्ट’ (Filtration Plant) जडान गरिनेछ।
४. खेलकुद (प्रवर्धन र पूर्वाधार) | Sports (Promotion & Infrastructure)
- आधुनिक र बहुउद्देश्यीय पूर्वाधार (Modern & Multi-purpose Infrastructure): टीकापुरमा एक अत्याधुनिक रङ्गशालाको निर्माण गरिनेछ। साथै, इन्डोर खेलहरूका लागि सुविधायुक्त कभर्ड हल (Covered Hall) को विकासमा विशेष पहल गरिनेछ।
- प्रत्येक विद्यालयमा खेल मैदान (Sports Ground in Every School): “एक विद्यालय, एक खेल मैदान” को अवधारणा अनुरूप प्रत्येक विद्यालयमा खेल पूर्वाधार निर्माण गरी विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा जोड दिइनेछ।
- खेलाडी प्रोत्साहन र वृत्ति (Player Incentives & Scholarships): उत्कृष्ट खेलाडीहरूका लागि प्रशिक्षण, खेल सामग्री र मासिक वृत्तिको व्यवस्था गरिनेछ। साथै, घाइते खेलाडीहरूको उपचारका लागि ‘खेलाडी कल्याण कोष’ स्थापना गरिनेछ।
- खेल क्षेत्रका खेलाडीहरू मार्फत स्थायी रोजगारीको सिर्जना गरिनेछ।
५. आधुनिक कृषि र व्यावसायिकरण (Agriculture: व्यावसायिकता र बजारीकरण)
- किसानलाई खेतीपातीको समयमा मल र उन्नत बीउको अभाव नहोस् भन्ने उद्देश्यले स्थानीय कृषि गोदाम सञ्चालन गरिनेछ।
- कृषि उत्पादनको सुरक्षा र भण्डारणको लागि ठूला कोल्ड स्टोरहरू निर्माण गरिनेनेछ।
- किसानले उत्पादन प्रत्यक्ष बिक्री गर्न सक्ने ‘हाट बजार’को संरचना तयार गरिनेछ।
- प्रत्येक किसानको उत्पादनको सीमा सुनिश्चित गरिनेछ।
- कृषि र पशुपालन उद्योगका लागि विद्युत् शुल्क पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइनेछ।
- आधुनिक प्रविधिमा आधारित डेरी स्थापना गरी दूध उत्पादनमा आत्मनिर्भरता सुनिश्चित गरिने।
- पशुपालन व्यवस्थित गर्दै मासु र अण्डा उत्पादनमा आत्मनिर्भरता ल्याइने।
६. धार्मिक तथा साहसिक पर्यटन विकास योजना
- एकीकृत पर्यटन मार्ग (The Spiritual Circuit): पदम प्रकाशेश्वर महादेव मन्दिरलाई मुख्य केन्द्रमा राखी मानसरोवर, उग्रतारा, बैजनाथ, खप्तड/सैपाल र शैलेश्वरीलाई जोड्ने गरी एक वृहत् धार्मिक पर्यटन मार्ग विकास गरिनेछ। यस क्षेत्रलाई “मानसरोवरको प्रवेशद्वार” (Gateway to Manasarovar) का रूपमा विश्वभर चिनाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गरिनेछ।
- साहसिक पर्यटन र आर्थिक समृद्धि: कर्णाली नदीमा व्यावसायिक र्याफ्टिङ र बोटिङ सुरु गरी यस क्षेत्रलाई साहसिक पर्यटनको केन्द्र (Hub) बनाइनेछ। यसबाट स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गरिनुका साथै पर्यटनको माध्यमबाट क्षेत्रीय अर्थतन्त्रमा ठोस योगदान पुर्याइनेछ।
७. एकीकृत वनकुञ्ज सफारी (Safari Unification: पर्यटन सर्किट)
- राष्ट्रिय निकुञ्ज जोड्ने पर्यटन सर्किट: शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जलाई एकीकृत गरी एक विशिष्ट ‘जङ्गल सफारी सर्किट’ निर्माण गरिनेछ। यसले दुई ठुला निकुञ्जहरू बीच पर्यटकको आवागमन सहज बनाउने र यस क्षेत्रलाई वन्यजन्तु पर्यटनको प्रमुख गन्तव्य बनाउनेछ।
- बहुआयामिक अनुभव (Agro & Wildlife): पर्यटकहरूलाई वन्यजन्तु अवलोकनका साथै स्थानीय एग्रो-टुरिजम (कृषि पर्यटन), डल्फिन र घडियाल गोहीको अवलोकनमा केन्द्रित गराइनेछ।
- बसाई लम्बाउने र आर्थिक वृद्धि: निकुञ्ज क्षेत्र वरपरका होमस्टे र होटलहरूको स्तरोन्नति गर्दै पर्यटकको बसाई अवधि बढाउने कार्यक्रमहरू ल्याइनेछ, जसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुर्याउनेछ।
८. भौतिक पूर्वाधार: गुणस्तरीय र समावेशी निर्माण
- अधुरा आयोजनाको पूर्णता: क्षेत्र नं. १ भित्रका सबै अधुरा सडक, पुल र पुलेसाहरूलाई उच्च प्राथमिकतामा राखी एक वर्षभित्र अनिवार्य रूपमा सम्पन्न गरिनेछ।
- स्तरीय ग्रामीण सडक: ग्रामीण क्षेत्रका सडकहरूलाई स्तरोन्नति गरी बाह्रै महिना सवारी साधन चल्न सक्ने सुरक्षित र पक्की सडकको सुनिश्चितता गरिनेछ।
- समावेशी र आधुनिक पूर्वाधार: सडक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिमैत्री संरचना र व्यवस्थित साइकल लेन निर्माण गरिनेछ। साथै, बजार र ग्रामीण क्षेत्रमा सफा तथा स्वास्थ्यकर सार्वजनिक शौचालयहरूको निर्माण गरिनेछ।
- सुलभ यातायात सेवा: बजारदेखि गाउँसम्म सहज र भरपर्दो नगर बस (City Bus) सेवा सञ्चालन गरिनेछ र आवश्यकता अनुसार आधुनिक बस स्टप संरचनाहरू निर्माण गरिनेछ।
- कर्णाली नदीको किनारमा एक सुविधासम्पन्न विद्युतीय शवदाह गृह निर्माण गरिनेछ। यसले परम्परागत रूपमा दाउराबाट हुने दाहसंस्कारको विकल्प दिई समय र खर्चको बचत गर्नेछ।
- शववाहन सेवालाई ‘हटलाइन’ वा डिजिटल प्रणालीसँग जोडेर आवश्यक परेको बेला तुरुन्त उपलब्ध हुने गरी वडा कार्यालय वा स्थानीय स्वास्थ्य केन्द्रमार्फत सञ्चालन गरिनेछ।
- नगरपालिका र मुख्य व्यापारिक केन्द्रहरूमा उच्च क्षमताका आधुनिक दमकल (Fire Engines) हरू थप गरिनेछ। साना र साँघुरा गल्लीहरूमा पनि जान सक्ने गरी साना वारुणयन्त्रहरूको समेत व्यवस्था मिलाइनेछ।
९. राष्ट्रिय गौरवका आयोजना: उत्तर-दक्षिण जोड्ने रणनीतिक पूर्वाधार
- रणनीतिक सडक सञ्जाल (North-South Corridor): कर्णाली कोरिडोर र सेती लोकमार्गको निर्माण कार्यलाई तीव्रता दिन केन्द्र सरकारसँग सशक्त पहल गरिनेछ। यसले सुदूरपश्चिम र कर्णाली क्षेत्रलाई छिमेकी राष्ट्र चीन र भारतको सीमासँग सिधा जोडी त्रिदेशीय व्यापारिक मार्गको रूपमा विकास गर्नेछ।
- अन्तर्राष्ट्रिय कनेक्टिभिटी: यस क्षेत्रका मुख्य सडकहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सडक सञ्जालसँग आवद्ध गरी व्यापार, लगानी र पर्यटनका नयाँ ढोकाहरू खोलिनेछ।
- आधुनिक सिँचाइ र रानी जमरा कुलरिया: राष्ट्रिय गौरवको आयोजना ‘रानी जमरा कुलरिया सिँचाइ आयोजना’ लाई पूर्णता दिई प्रत्येक किसानको खेत-खेतमा पानी पुर्याइनेछ। यस क्षेत्रलाई कृषिको आधुनिक हब बनाउन आधुनिक सिँचाइ प्रविधिको विस्तार गरिनेछ।
१०. व्यापारिक मार्ग (Trade Link): खक्रौला–लम्की व्यापारिक कोरिडोर
- समर्पित व्यापार मार्ग (Dedicated Trade Route): खक्रौला भन्सारदेखि डुडेझारी हुँदै लम्की जोड्ने सडकलाई एक समर्पित व्यापारिक मार्ग (Trade Road) को रूपमा विस्तार गरिनेछ। यसले नेपाल–भारत सीमा र पूर्व–पश्चिम राजमार्गबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ र द्रुत बनाउनेछ।
- आधुनिक पूर्वाधार र व्यवस्थापन: यस मार्गमा आधुनिक ढाँचाका पुल, वैज्ञानिक ढल निकास र अन्तर्राष्ट्रिय स्तरको ट्राफिक संकेत प्रणाली जडान गरिनेछ। यसबाट मालबाहक सवारी साधन र अन्य यातायातको आवागमनलाई सुरक्षित र सहज बनाइनेछ।
- आर्थिक गतिविधिका नयाँ सम्भावना: यो मार्ग विस्तार भएसँगै यस क्षेत्रमा नयाँ उद्योग, गोदाम घर (Warehousing) र व्यवसायिक प्रतिष्ठानहरू खुल्ने वातावरण सिर्जना गरी स्थानीय स्तरमा आर्थिक क्रान्ति ल्याइनेछ।
११. भन्सार सुदृढीकरण (Customs: क्वारेन्टाइन र व्यापार सहजता)
- क्वारेन्टाइन र गोदाम व्यवस्थापन: खक्रौला भन्सारमा अत्याधुनिक क्वारेन्टाइन ल्याब र सुविधायुक्त गोदाम पुन:स्थापना गरिनेछ। यसबाट कृषिजन्य सामग्रीको आयात-निर्यातमा हुने ढिलासुस्ती अन्त्य गरी किसान र व्यवसायीका समस्या समाधान गरिनेछ।
- भन्सार सुरक्षा र पारदर्शिता: सीमा क्षेत्रमा हुने चोरी-पैठारी, लुटपाट र भन्सार प्रशासनमा देखिने अनियमितता नियन्त्रण गर्न आधुनिक प्रविधिको प्रयोग (CCTV, Digital Tracking) गरिनेछ। भन्सार सञ्चालन प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र झन्झटरहित बनाउन कडा कानुनी संयन्त्र लागू गरिनेछ।
- व्यापारिक सुरक्षा: सीमावर्ती क्षेत्रमा व्यवसायी र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायसँगको समन्वयमा प्रभावकारी गस्ती र निगरानीको व्यवस्था मिलाइनेछ।
१२. युवा स्वरोजगार (Employment: स्वदेशमै अवसर)
- स्थानीय स्रोतमा आधारित उद्यमशीलता: स्थानीय कच्चा पदार्थ (जस्तै: केरा, बाँस, काठ) मा आधारित साना तथा मझौला उद्योग खोल्ने युवाहरूलाई बिना धितो न्यून ब्याजमा ऋण र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइनेछ। यसबाट स्थानीय उत्पादनको प्रवर्द्धन र स्वदेशमै रोजगारी सुनिश्चित गरिनेछ।
- डिजिटल अर्थतन्त्र र सूचना प्रविधि: सूचना प्रविधि (IT), सफ्टवेयर विकास र डिजिटल मार्केटिङ क्षेत्रमा युवाहरूको दक्षता बढाउन विशेष तालिम केन्द्रहरू स्थापना गरिनेछ। युवाहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी डिजिटल उद्यमशीलताका अवसरहरू प्रदान गरिनेछ।
- दक्ष जनशक्ति निर्माण: युवाहरूलाई व्यावसायिक कलेज, सीपमूलक तालिम केन्द्र र प्राविधिक संस्थाहरूसँग जोडेर प्रमाणित दक्षता (Certified Skills) हासिल गर्ने अवसर सुनिश्चित गरिनेछ। “पढ्दै कमाउँदै” वा “सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मान्यतालाई व्यवहारमा उतारिनेछ।
१३.सुशासन र पहिचान (Governance: जनताको सरकार)
- भ्रष्टाचारमुक्त प्रशासन: सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचारलाई “शून्य सहनशीलता” (Zero Tolerance) को नीति अपनाई पूर्ण रूपमा अन्त्य गरिनेछ। सेवाग्राहीका गुनासाहरू सिधै सुन्नका लागि डिजिटल प्रविधि र ‘हेलो जनप्रनिधि’ जस्ता प्रभावकारी संयन्त्रहरू सञ्चालन गरिनेछ।
- थारु संस्कृति र पहिचानको संरक्षण: यस क्षेत्रको मौलिक थारु संस्कृति, भाषा र पहिचानलाई विश्वभर चिनाउन अत्याधुनिक थारु संग्रहालय र सांस्कृतिक केन्द्रहरूको निर्माण तथा प्रवर्द्धन गरिनेछ।
- सांस्कृतिक सम्पदाको जगेर्ना: स्थानीय परम्परागत नाच, कला, र पर्वहरू (जस्तै: सखिया, मारुनी, देउडा,छलिया,होरी,पुतलाका विशेष झाँकीहरू) संरक्षण गर्न वार्षिक रूपमा सांस्कृतिक महोत्सव र तालिमहरूको आयोजना गरिनेछ। मौलिक पहिचानलाई पर्यटनको मुख्य आकर्षणको रूपमा विकास गरिनेछ।
१४. विद्युत् र ऊर्जा (Electricity: उज्यालो र सुरक्षित क्षेत्र)
- स्मार्ट सडक बत्ती (Smart Street Lights): बजार र ग्रामीण क्षेत्रका मुख्य सडकहरूमा उच्च क्षमताका स्मार्ट सडक बत्तीहरू जडान गरिनेछ। यसबाट रात्रिकालीन सुरक्षा सुनिश्चित हुनुका साथै सुरक्षित आवागमनको वातावरण सिर्जना गरिनेछ।
- भूमिगत प्रसारण लाइन (Underground Cabling): शहरी क्षेत्रको सुन्दरता बढाउन र विद्युतीय दुर्घटना न्यूनीकरण गर्न अव्यवस्थित विद्युत् तथा सञ्चारका तारहरूलाई चरणबद्ध रूपमा भूमिगत (Underground) गरिनेछ।
- भरपर्दो विद्युत् सेवा: राष्ट्रिय प्रसारण लाइनको प्राविधिक व्यवस्थापनमा सुधार गरी ‘लो भोल्टेज’ र अघोषित लोडसेडिङको समस्या अन्त्य गरिनेछ। प्रत्येक घरधुरी र उद्योगमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गरिनेछ।
- नवीकरणीय ऊर्जा प्रवर्द्धन: सडक बत्ती र सार्वजनिक कार्यालयहरूमा वैकल्पिक ऊर्जाको रूपमा सौर्य ऊर्जा (Solar Energy) लाई प्राथमिकता दिइनेछ।
१५. भूमि सुधार तथा व्यवस्थापन (Land Reform & Management: स्थायी समाधान)
- वैज्ञानिक जग्गा धनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण: उच्च अधिकारसम्पन्न राष्ट्रिय भूमि आयोगमार्फत भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्यालाई वैज्ञानिक ढंगले वर्गीकरण गरी स्थायी रूपमा लालपुर्जा वितरण गरिनेछ।
- सुकुम्बासी समस्याको दीर्घकालीन समाधान: पुस्तौँदेखि बसोबास गर्दै आएका तर जग्गाको स्वामित्व नपाएका भूमिहीन किसान र सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई आवास र कृषियोग्य भूमिको अधिकार सुनिश्चित गरिनेछ।
- व्यवस्थित बसोबास र पूर्वाधार: जोखिमपूर्ण क्षेत्रमा रहेका बसोबासीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक पूर्वाधार (बिजुली, पानी, सडक) सहितको एकीकृत बस्ती विकासमा जोड दिइनेछ।
- मोहियानी हक र जग्गा प्रशासन: मोहियानी हक सम्बन्धी अल्झिएका मुद्दाहरूलाई छिटो छरितो ढंगले समाधान गरी जग्गा प्रशासनलाई प्रविधिमैत्री र भ्रष्टाचारमुक्त बनाइनेछ।
१६. ग्रीन सिटी टीकापुर (Green City Tikapur: स्वच्छ र सुन्दर शहर)
- वृक्षारोपण र हरियाली प्रवर्द्धन: टीकापुरका मुख्य सडक, पार्क र सार्वजनिक क्षेत्रहरूमा व्यापक वृक्षारोपण गरी यसलाई नेपालकै नमूना ‘हरियाली शहर’ (Green City) का रूपमा विकास गरिनेछ। ‘एक घर, दुई बिरुवा’ को अवधारणालाई प्रोत्साहन गरिनेछ।
- वैज्ञानिक फोहोर व्यवस्थापन: शहरको फोहोरलाई स्रोतमा नै वर्गीकरण (कुहिने र नकुहिने) गरी आधुनिक वेस्ट-टु-इनर्जी (Waste-to-Energy) प्रविधिमार्फत व्यवस्थापन गरिनेछ। प्लाष्टिकमुक्त टीकापुर अभियानलाई कडाइका साथ लागू गरिनेछ।
- पार्क तथा खुला क्षेत्रको सौन्दर्यीकरण: प्रसिद्ध टीकापुर पार्कको स्तरोन्नति गर्नुका साथै शहरका विभिन्न स्थानमा ‘चिल्ड्रेन पार्क’ र ‘जेष्ठ नागरिक उद्यान’ हरू निर्माण गरी शहरी वातावरणलाई स्वच्छ र शान्त बनाइनेछ।
- वातावरणमैत्री यातायात: शहरभित्र विद्युतीय रिक्सा र साइकलको प्रयोगलाई प्रोत्साहन गर्न छुट्टै साइकल लेन र चार्जिङ स्टेशनहरूको व्यवस्था गरिनेछ।
१७. सामाजिक सुधार र जनचेतना (Social Reforms: सभ्य समाजको निर्माण)
- कुप्रथा र कुसंस्कारको अन्त्य: समाजमा जरो गाडेर रहेका छाउपडी, छुवाछूत, र दाइजो जस्ता कुप्रथाहरू विरुद्ध शून्य सहनशीलताको नीति लिइनेछ। यी कुप्रथा उन्मुलनका लागि कानुनी उपचारसँगै समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।
- लागुऔषध मुक्त समाज: युवा पुस्तालाई विनाशको बाटोमा लैजाने लागुऔषध र दुर्व्यसनी विरुद्ध विशेष अभियान चलाइनेछ। कुलतमा फसेका युवाहरूका लागि प्रभावकारी ‘पुन:स्थापना केन्द्र’ (Rehabilitation Centers) र परामर्श सेवाको व्यवस्था गरिनेछ।
- युवा सक्रियता र निरन्तर संवाद: सामाजिक कुप्रथाहरू रातारात परिवर्तन हुँदैनन् भन्ने यथार्थलाई आत्मसात् गर्दै स्थानीय युवा क्लब, आमा समूह र नागरिक समाजको सक्रियतामा ‘निरन्तर सामुदायिक संवाद’ कार्यक्रम सुरु गरिनेछ।
- सभ्य र समतामूलक समाज: हरेक व्यक्तिले आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण सिर्जना गरिनेछ। जातीय, लैङ्गिक वा अन्य कुनै पनि आधारमा हुने विभेद अन्त्य गरी एक सभ्य र सुसंस्कृत समाजको निर्माण गरिनेछ।
फागुन २१ मा अनार–दाना मा भोट
पुरातन र आराजकवादीलाई ठूलो चोट।
“हामारा कैलाली हामारा पहिचान
मिलके चल्बो हात में हात।”
अनार चिन्ना मे भोट देबो,
राजेन्द्र शाही के जितायेबो।



